दुध किसानले सरकारसँग भिख होइन, पसिनाको मूल्य मागेका हुन् : बास्कोटा

नेकपा एमालेका सांसद गोकुल बास्कोटाले दुग्ध किसानहरूले सरकारसँग भिख नभइ पसिनाको मूल्य माग गरेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बास्कोटालेसरकारले दुग्ध किसानहरुको करिव एक वर्षदेखिको माग सम्बोधन गर्न नसकेको भन्दै दुग्ध किसानको ५ अर्ब बढीको रकम भुक्तानी तत्काल गर्न ध्यानाकर्षण गराए ।

दुग्ध किसानहरूले न्याय पाउनको लागि अब सडक आन्दोलन नभएर फ्रान्सको जस्तो गरी ट्याक्टर, गाई भैँसी सडकमा छोड्नुपर्ने होरु भन्दै प्रश्नसमेत गरे ।

‘दुग्ध किसानहरूले सरकारसँग ५ अर्ब बढी रकम पाउन सकेका छैनन् । किसानले नङ्ग्रा ख्याएको,पसिना बगाएर परिवार र घर चलाउन चाहेको कुरालाई महिनौंदेखि भुक्तानी नदिएर किन रुवाउँदै छौँ,’ उनले भने, ‘किसानलाई रुवाएर सरकार हासेर बस्ने हो ? जनताको सरकार होइन ? जनताप्रति जवाफ दिनुपर्छ कि पर्दैन ? अहिले पनि दुग्ध विकास संस्थाले १ अर्ब ५५ करोड भन्दा माथि भुक्तानी गर्न बाँकी छ। प्राइभेट सेक्टर व्यापारमा मात्रै लिप्त छ। नाफामा मात्रै लिप्त छ जवाफदेहिता छैन ।’

दुग्ध किसानहरूले सरकारसँग ५ अर्ब बढी रकम भुक्तानी नदिँदा किसानले नङ्ग्रा ख्याएको, पसिना बगाएर पनि घर चलाउन समेत रुवाउनुपर्ने अवस्थाको अन्त्य सरकारले गर्न आवश्यक रहेको बताए ।

वर्तमान सरकार दुग्ध लगायत अन्य किसानहरुलाई समेत रुवाएर आफू हासेर बस्न नसुहाउने उनको भनाइ थियो ।

‘सरकार अनुदान पनि नदिने र दुग्ध विकास संस्थान सुधार गर्न पनि दिने अवस्था छ । २४ लाख ६० हजार लिटर मासिक दुग्ध खरिद हुन्छ । किसानहरू कसरी बस्ने ? मल, बीउ, लुगा किन्न र बच्चाको फि तिर्न रकम छैन । बुबा आमा विरामी छन सिटामोल किन्न पैसा छैन । सरकार यस्तो खालको रमिता हेरेर बस्न मिल्छ की मिल्दैनरु’, बास्कोटाले भने ।

उनले लम्पी स्किनलाई लिएर अर्बौंको क्षति हुँदा समेत किसानहरूले बीमाको रकम लगायत गाईको मूल्य नपाएको बताए ।