महामन्त्री ढकालले बुझाएको प्रतिवेदन गम्भीरतापूर्वक अध्ययन गर्छौं: शिशिर खनाल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले महामन्त्री मुकुल ढकालले पार्टी सभापतिसमक्ष पेस गरेको समीक्षा प्रतिवेदनलाई गम्भीरताका साथ अध्ययन गरिने बताएका छन् ।

बिहीबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद खनालले पार्टी कमजोर भयो कि भन्ने आवाज पार्टीभित्र उठेकाले नै महामन्त्री ढकाललाई समीक्षा यात्रामा पठाइएको जानकारी दिए ।

‘हामी कमजोर भयौँ कि भन्ने आवाज पार्टीभित्रै पनि उठेको छ । महामन्त्रीले जुन प्रतिवेदन सभापतिलाई बुझाउनुभयो, इलामको निर्वाचनपछि पार्टी सचिवालयले यही कुरा पत्ता लगाउन भनेर उहाँलाई खटाएको थियो,’ उनले भने ।

उनले महामन्त्रीलाई पार्टीको अवस्था पत्ता लगाउनका लागि नै यात्रामा पठाइएको उल्लेख गरे । उनले प्रतिवेदनको गम्भीरतापूर्वक अध्ययन गरिने र निष्कर्ष निकालिने जानकारी दिए ।