नेकपा एकीकृत समाजवादीले आगामी महाधिवेशनबाट पदाधिकारीको संख्या १९ बाट २१ पुर्याउने भएको छ ।
बिहीबार पार्टी कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले आसन्न महाधिवेशनबाट २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने निर्णय गरेको हो । यसअघि १९९ सदस्यीय केन्द्रीय कमिटी रहेको थियो ।
पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले पार्टीको सम्मानित पद यथावत् राख्ने निर्णय भएको बताए । त्यस्तै वरिष्ठ उपाध्यक्ष पद सिर्जना गर्ने र केन्द्रीय उपाध्यक्षमा एक महिला सिट अनिवार्य गर्ने निर्णय भएको उनले बताए । विधानमा १५१ केन्द्रीय कमिटी रहने व्यवस्था छ । त्यसलाई बढाएर २९९ सदस्यीय बनाउने निर्णय पनि भएको छ ।
एकीकृत समाजवादीको महाधिवेशनमा माधव नेपाल र घनश्याम भुसालले दाबी गरेका छन् । अध्यक्षमा दोहोरिने इच्छा राखेका नेपालले वरिष्ठ उपाध्यक्ष पद खडा गरेर भुसाललाई मनाउने कोशीस गरिएको छ ।
एकीकृत समाजवादीको महाधिवेशन आउँदो असार १६–२० मा काठमाडौंमा हुँदै छ ।