जननेता मदन भण्डारीको ७३औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै

तत्कालीन नेकपा (एमाले)का महासचिव मदनकुमार भण्डारीको आज ७३ औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदैछ । जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले विविध कार्यक्रम आयोजना गर्दै आएको छ ।

विसं २०४९ माघ १४–२० मा सम्पन्न एमालेको पाँचौं राष्ट्रिय महाधिवेशनमा जननेता भण्डारीबाट प्रस्तुत र पारित ‘नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद’ अहिले पनि एमालेको मार्गदर्शक सिद्धान्तका रुपमा रहेको छ । फाउन्डेसनले जननेता भण्डारीको जन्मजयन्तीको अवसरमा आज राष्ट्रिय विचार गोष्ठी र मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण कार्यक्रम तय गरेको छ ।

फाण्डेसनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा जबज : राजनीतिक विकास र स्थायित्व विषयक बिचार गोष्ठी आयोजना गर्न लागेको हो । आज दिउँसो १ः३० बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा कार्यक्रम आयोजना गरिएको फाण्डेसनका अध्यक्ष महेन्द्र बहादुर पाण्डेले जानकारी दिए । सोही कार्यक्रममा फाण्डेसनले हरेक वर्ष प्रदान गर्ने मदन भण्डारी राष्ट्रिय पुरस्कार पाँचथरको कञ्चनजंघा चिया बगान केन्द्रलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको पाण्डेले बताए ।

वि. सं. २००९ असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा जन्मिएका भण्डारीको निधन वि‍‍. स. २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय दुर्घटनामा परी भएको थियो । जननेता मदन भण्डारी नेपालको राजनीतिक वृत्तमा मार्क्सवादको नवीन प्रयोगकर्ता, विचारक तथा जनताको बहुदलीय जनवाद सिद्धान्तका प्रवर्तक थिए ।