कर्णाली करिडोरका विभिन्न ठाउँमा पहिरो खस्दा सडकमा अवरुद्ध भएको छ । करिडोरको दैलेख खण्डअन्तर्गत पाँच ठाउँमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
दैलेख प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुनिल न्यौपानेले पालेतडा–पादुका खोला बीचको खण्डका पाँच ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको बताए । अवरुद्ध सडक खोल्न नेपाल प्रहरी र सशस्त्र प्रहरी को टोली परिचालन गरिएको छ।
यसैगरी, मध्यपहाडी राजमार्गको रुकुमखण्ड पनि पहिरोले अवरुद्ध भएको छ। रुकुमपश्चिमको मुसिकोट नगरपालिका–८ किटनीमा बिहीबार साँझ खसेको पहिरोले सडकमा गाडी चल्न सकेका छैनन् ।
रुकुमपश्चिमका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बाटो खुलाउने प्रयास जारी रहेको जानकारी दिए । राजमार्ग अवरुद्ध हुँदा सुर्खेतबाट जुम्ला र कालिकोटका लागि हिँडेका यात्रुहरू अलपत्र परेका छन् ।














