नगर सभा विवादले उपप्रमुख सुनिता डंगोलको पोर्चुगल भ्रमण स्थगित

काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पोचुर्गल भ्रमण स्थगित गरेकी छन् ।

निकट स्रोतले दिएको जानकारी अनुसार, नगरसभा बैठक देखिएको विवादकाबीच पोर्चुगल भ्रमणमा निस्कँदा गलत सन्देश जानसक्ने भन्दै उपमेयर डंगोलले भ्रमण स्थगित गरेकी हुन् । उनको भोली असार १५ गते पोर्चुगल भ्रमणमा निस्कने कार्यतालिका थियो ।

शुक्रबार बिहानैमात्र काठमाडौँ महानगरपालिकाको नगरसभा बैठक स्थगित भएको थियो । मेयर बालेन्द्र शाह तीन घन्टासम्म बैठकमा नपुगेपछि नगरसभा सदस्यहरू फर्किन बाध्य भएका थिए ।

यस्तो अवस्थामा आफ्नो पोर्चुगल भ्रमणले झनै गलत सन्देश जानसक्ने भन्दै उनको भ्रमण स्थगित भएको सचिवालय स्रोतले जानकारी दियो ।

‘एक त महानगर प्रमुख नै राजनीतिक दलहरूलाई लक्षित गरेर आक्रामक रूपमा प्रस्तुत भइरहेका छन्, फेरि उपप्रमुख पनि विदेश जाँदा दलबाट निर्वाचित हुनेहरूले असहयोग गरिरहेको भन्ने भ्रम बाहिर आउन सक्ने भन्दै उहाँले भ्रमण रोक्नु भएको हो,’ उनी निकट स्रोतले भन्यो ।

आज नीति कार्यक्रम छलफल भएर पास हुने आकलनको साथ डंगोलको भ्रमण तय भएको थियो ।