काठमाडौं । रास्वपाको अनुशासन आयोगले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको छ । आयोगले ढकाललाई पार्टीको अनुशासन भंग गरेको भन्दै के कारणले यस्तो गरेको भनी शुक्रबार अपराह्न स्पष्टीकरण पत्र थमाएको हो । महामन्त्री ढकालले देश दाैडाहा गरी तयार पारेको प्रतिवेदन सभापतिलाई बुझाउनु उचित भए पनि त्यसभित्रका बुँदाहरु मिडियामा सार्वजनिक गरेर ढकालले पार्टीको सामान्य मर्यादासमेत उल्लंघन गरेको पत्रमा उल्लेख गरिएको छ ।
रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले महामन्त्री ढकाललाई अनुशासन आयोगले शुक्रबार पत्र पठाएको जानकारी दिइन् । ढकालले भने आफूलाई लामिछानेबाहेक अरुले स्पष्टीकरण सोध्न नपाउने भन्दै त्यो पत्र खोलेर नपढ्ने जिकिर गरेका छन । उनले त्यसको प्रतिवाद गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘मलाई अहिलेसम्म पार्टी सभापतिले स्पष्टीकरण सोध्नु भएको छैन। सबैको जानकारीका लागि।’
महामन्त्री ढकालले पार्टी सभापति रवि लामिछानेलाई बुझाएको प्रतिवेदन र त्यसपछिका अभिव्यक्तिका कारण रास्वपा तरंगित भएको छ। ३८ जिल्ला घुमेर ढकालले तयार पारेको ३२ पाने प्रतिवेदनका कारण रास्वपाभित्र खैलाबैला उत्पन्न भएको छ ।