काठमाडौँमा उपत्यकामा आज पनि वर्षा जारी रहने

देशभरसँगै काठमाडौँ उपत्यकामा आज (शनिबार) पनि वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्।

महाशाखाका मौसमविद् सरोज पुडासैनीले यतिखेर (शनिबार बिहान ८ बजे) काठमाडौँ उपत्यकाभित्र नै भने वर्षा रोकिएको बताए।

‘तर उपत्यकाआसपास काभ्रे, सिन्धुपाल्चोकतिर भने अहिले पनि पानी परिरहेको छ’, उनले भने, ‘काठमाडौँ उपत्यकाको मौसम पनि साधारणतयादेखि पूर्णतया बदली (आकाशमा बादल) छ, फेरि पानी पर्छ।’

उनले थपे, ‘लगातार झरीचाहिँ हुँदैन, तर पानी पर्ने, एकछिन रोकिने, फेरि पर्ने क्रम आज दिउँसो तथा राति पनि जारी रहने देखिन्छ।’

मौसमविद् पुडासैनीका अनुसार गएराति पनि काठमाडौँ उपत्यकामा हल्कादेखि मध्यमसम्म वर्षा भएको छ।