एकीकृत समाजवादीको दसौं महाधिवेशन आजदेखि

नेकपा (एकीकृत समाजवादी)को दशौँ महाधिवेशन आज (आइतबार) देखि सुरु हुँदै छ । महाधिवेशन काठमाडौंको प्रज्ञा भवनमा हुने जनाइएको छ ।

त्यसअघि बिहान ११ बजे भृकुटीमण्डपमा भेला भई र्‍याली निकालिने कार्यक्रम रहेको एक नेताले जानकारी दिए । नेकपा (एमाले)बाट विभाजन भएको तीन वर्ष नपुग्दै महाधिवेशन गर्न लागेको हो । तथापि एमालेकै निरन्तरता भएकाले यसलाई उसले दसौं महाधिवेशन बताएको छ ।

महाधिवेशन तयारीका सन्दर्भमा गत बिहीबार बसेको सचिवालय बैठकले वरिष्ठ उपाध्यक्ष पद थप गर्ने निर्णय गरेको छ । त्यस्तै, यो महाधिवेशनबाट केन्द्रीय कमिटी २९९ बनाइने निर्णय गरेको हो । महाधिवेशन यही असार २० गतेसम्म चल्नेछ ।

एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल, झलनाथ खनाल र घनश्याम भूसाल उठ्ने चर्चा भइरहेको छ ।

अध्यक्ष नेपालले आफूलाई एक कार्यकाल सहयोग गर्न नेताहरूलाई भनेका छन् भने खनालले आफू प्रतिस्पर्धा नगरेको खण्डमा भूसाललाई समर्थन गर्न खोजेका छन् । प्रवक्ता जगन्नाथ खतिवडाले सर्वसम्मत तरिकाबाट नेतृत्व चयन गर्न पहल भइरहेको पनि बताए ।