असई थमन विक हत्या प्रकरणमा आठ वर्षदेखि फरार पूर्वसांसद यादव गाडी दुर्घटनापछि पक्राउ परे

मधेश प्रदेशका पूर्वसांसद कौशल कुमार यादव पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीले कर्तव्य ज्यान मुद्दामा पूर्वसांसद यादवलाई गत शनिबार पक्राउ गरेको हो ।

फरार रहेका यादवलाई शनिबार राति महोत्तरीको साम्सी गाउँपालिका ५ पोखरीभण्डाबाट पक्राउ गरेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जयसवालले जानकारी दिए ।

उनलाई आजै जिल्ला अदालत महोत्तरीमा हाजिर गरिएको छ । लोसपाका नेतासमेत रहेका उनी लामो समयदेखि फरार थिए । उनी २०७४ मा तत्कालीन संघीय समाजवादी फोरमबाट महोत्तरी क्षेत्र नं. ४ (क) मा प्रदेश सांसद निर्वाचित भएका थिए ।

२०७९ को निर्वाचन अघि जसपाले उनलाई पार्टीबाट निष्काशन गरेपछि लोसपाबाट चुनाव लडेका थिए । तर पराजित भए । अदालतमा मुद्दा चलिरहँदा उनी फरार नै थिए ।

मधेश आन्दोलनका क्रममा २५ भदौ २०७२ मा महोत्तरीमा सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या भएको थियो । उक्त मुद्दामा २८ साउन २०७५ मा महोत्तरी जिल्ला अदालतमा २८ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो ।

महोत्तरी जिल्ला अदालतले असई विक हत्या प्रकरणमा लोसपा मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मासहित सात जनालाई जन्मकैदको सजाय सुनाएको थियो ।

एमाले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो र पुर्पक्षका लागि थुनामा रहेका पवन कापरले सफाइ पाएका थिए । यादवसहित १९ जनाको मुद्दा मुल्तवीमा राखिएको थियो ।

प्रहरीका अनुसार शनिबार १५ गते साँझ अन्दाजी ९ः१५ बजेको समयमा महोत्तरीको सम्सी गाउँपालिका–५ स्थित हुलाकी सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको डीएल ३ सीएवाई ८६१५ नम्बरको स्कारपियो गाडीलाई विपरित दिशाबाट आउँदै गरेको प्र। २–०२–००१ च ००४५ नम्बरको महेन्द्र पिकअप गाडीले ठक्कर दिई भागेको थियो ।

सो सम्बन्धी खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल गई स्कारपियो गाडीका चालक सहित ३ जना घाइतेहरूलाई उपचारका लागि स्थानीय मेडिकलमा पठाइएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने महेन्द्रा गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिई सोधपुछ गर्दा उनी महोत्तरी सोनमा गाउँपालिका–५ खैरवनी (साबिक खैरवनी गाविस–६) बस्ने राम लखन यादवको छोरा अन्दाजी वर्ष ४५ का कौशल कुमार यादव (पूर्वसांसद) भएको खुलेको हो ।