नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (एकीकृत समाजवादी)ले छोटो समयमै नेपालको राजनीतिमा निर्णायक भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरेका छन् ।
आइतबार एकीकृत समाजवादीको १० औं महाधिवेशन उद्घाटन समारोहमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाकाप्रति गहिरो प्रतिबद्धताका साथ एकीकृत समाजवादीले काम गरिरहेको बताए ।
‘नेकपा (एकीकृत समाजवादी) पार्टीले आफ्नो स्थापना कालदेखि नै छोटो समयमा पनि नेपालको राजनीतिमा सकारात्मक महत्त्वपूर्ण निर्णायक भूमिका निर्वाह गरेको छ । नेपालको संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सबलीकरण र यसै संविधानमार्फत मुलुकमा दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि प्राप्त गर्नु महत्त्वपूर्ण एजेन्डा हुन्,’ उनले भने ।
सभापति देउवाले नेपालको राजनीतिमा मुलुकमा शान्ति स्थापना गर्ने सवाल, संविधान निर्माण गर्ने सवालमा माधव नेपालले महत्त्वपूर्ण भुमिका निर्वाह गरेको बताए ।















