शंकर पोखरेल भन्छन्– संविधान संशोधन गर्ने गरी ओली नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार

नेकपा एमालेका महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने गरी नेपाली कांग्रेससँग समझदारी भएको दाबी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत पोखरेलले लेखेका छन्, ‘राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने र तदनुरूपका कानुनसमेत निर्माण गर्ने गरी केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन नेकपा एमाले र नेपाली कांग्रेसका बीचमा समझदारी ।’

महासचिव पोखरेलले यस प्रक्रियामा सहमत दलहरुलाई राष्ट्रिय सरकारमा समावेश गरिने पनि उनले उल्लेख गरेका छन् ।

सोमबार मध्यरात मुलुकका दुई ठूला दल कांग्रेस र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने लगायतका विषयमा समझदारी गरेका थिए । यो समझदारीसँगै दलहरू आन्तरिक छलफलमा छन् ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । उनीहरूबीच अहिले भेटवार्ता भइरहेको छ।

सोमबार मध्यराति नेकपा एमाले र नेपाली कांग्रेसबीच भएको सहमतिपछि प्रचण्ड भेट्न ओली बालुवाटार पुगेका हुन् ।