कांग्रेस–एमाले गठबन्धनमा रास्वपा सहभागी नहुने, नयाँ सरकार बन्ने प्रक्रिया सुरू हुनेबित्तिकै मन्त्री फिर्ता बोलाउने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अब बन्ने नेपाली कांग्रेस–नेकपा (एमाले)को सरकारमा सहभागी नहुने भएको छ ।

मंगलबार सिंहदरबारमा बसेको पार्टी सचिवालय बैठकपछि प्रमुख सचेतक सन्तोष परियारले नयाँ गठबन्धनमा सामेल नहुने जानकारी दिए । “अब बन्ने गठबन्धनमा हामी रहँदैनौँ । सरकारमा जाँदैनौँ,” उनले भने ।

अर्को सरकारको प्रक्रिया अघि बढाइएपछि आफूहरू मन्त्रिपरिषद्‌बाट बाहिरिने उनले बताए । नयाँ सरकार बन्ने प्रक्रिया अघि बढ्नेबित्तिकै रास्वपाका मन्त्रीहरूले पदबाट राजीनामा दिने उनले बताए । “अहिले केही अनुमान र आधिकारिक प्रक्रिया अघि नबढेको हुँदा सरकार अर्को बन्ने प्रक्रिया अघि बढेपछि हामी स्वाभाविक रूपमा बाहिरिन्छौँ,” उनले भने ।

रास्वपाबाट अहिलेको संघीय सरकारमा ४ जना मन्त्री छन् । सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री छन् ।