सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल टेलिकमको प्रबन्ध निर्देशक (एमडी) पदका उम्मेदवारलाई अन्तर्वार्तामा बोलाएको छ । यही असार २० देखि २२ गतेसम्म मन्त्रालयले १६ उम्मेदवारलाई कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्तामा बोलाएको हो ।
सत्तारुढ एमालेले गठबन्धन पविर्तन गरेर नेपाली कांग्रेससँग मिलेर सरकार बनाउने सहमति गरेकै दिन मन्त्रालयले आवेदकहरुलाई अन्तरवार्तामा बोलाएको हो ।
नियुक्तिका लागि मन्त्रिपरिषदमा ३ जनाको नाम सिफारिस गर्न अन्तरवार्ता र व्यवसायिक कार्यायोजनाको प्रस्तुतीकरणको तालिका प्रकाशित भएको हो ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को एमडी पदका निम्ति मन्त्रालयले १६ जनाको आवेदन स्वीकृत गरेको थियो । मन्त्रालयले अन्तर्वार्तामा बोलाएकामा राजेश जोशी, अनन्तप्रकाश मल्लिक, डा. विमल आचार्य, प्रेमप्रसाद सिलवाल, चिन्तामणि बराल, कृष्णप्रसाद भण्डारी, अनिलकुमार झा, डा. शालिग्राम पराजुली, लक्ष्मण महर्जन छन् ।
यस्तै, नगेन्द्रकुमार दास, केदारनाथ कोइराला, कमल लामिछाने, रमेशप्रसाद जोशी, शालिकराम सुवेदी, बुद्धिप्रसाद आचार्य र संगिता पहाडी अर्याललाई अन्तर्वार्तामा बोलाइएको हो । यीमध्ये एकजना टेलिकमको एमडीमा नियुक्त हुनेछन् ।
मन्त्रालयले २२ जेठ दरखास्त आह्वान गरेको थियो । तर, दरखास्तका लागि दिइएको अन्तिम मिति सकिएपछि करिब २ हप्ता अन्तरवार्ताको सूचना निकालिएको थिएन । अब सरकार फेरिने अवस्था बनेपछि सूचना निकालिएको छ ।