गिरिजाप्रसादको फोटो प्रदर्शनी हेर्न प्रचण्ड र ओली पुगे सानेपा, देउवाले गरे स्वागत

नेपाली कांग्रेसका सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष दलका नेताहरू पुगेका छन् ।

मंगलबार ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा शताब्दी जन्मजयन्तीको अवसरमा फोटो प्रदर्शनी र विमर्श सभा गरिएको छ । उक्त कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड र ‌ओली पुगेका हुन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उनीहरूलाई स्वागत गरेका थिए । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई पनि उक्त कार्यक्रममा पुगेका थिए ।

अवलोकनलगत्तै सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन कुमार थापा लगायतसँग ओलीले छलफल गरेका थिए ।

राजनीतिक समीकरण फेरबदलकाबीच सानेपामा शीर्ष नेताहरूको जमघटले धेरैको मन खिचेको छ । फोटो प्रदर्शनीमा एक सय ५१ वटा ऐतिहासिक महत्त्वका फोटोहरू राखिएका छन् ।