नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैकल्पिक सरकारको बहस चलाएको आरोप लगाएको छ ।
मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूको प्रश्नमा नेता प्रदीप ज्ञवालीले सत्ता साझेदार दललाई कुनै जानकारी नदिएर प्रचण्डले वैकल्पिक सरकारको बहस चलाएको बताए ।
‘बहालवाला प्रधानमन्त्री स्वयंले वैकल्पिक सरकारको बहस चलाउनुभयो, सत्तारूढसँग छलफल नगरी । प्रमुख पिपक्षीबाट प्रस्ताव भयो भनी थाहा पाउनुपर्यो,’ ज्ञवालीले भने ।
साथै उनले नयाँ सरकार निर्माणका लागि बुधबारसम्म मार्ग प्रशस्त गर्न प्रचण्डलाई आह्वान गरेका छन् । उनले गत फागुन २१ गते प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा एमालेले ब्ल्याङ्क चेकमा सही गरेजस्तो गरी सहयोग गरेको पनि बताए ।