राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले समीक्षा प्रतिवेदनका आधारमा तयार पारिएको प्रस्ताव केन्द्रीय कमिटी बैठकमा पेस गर्न नपाएको बताएका छन् ।
समीक्षा प्रतिवेदनका आधारमा पार्टी महामन्त्रीको तर्फबाट प्रस्ताव पेश गर्न हिजो सचिवालयको बैठकमा अनुमति दिने भनिएपनि आज सभापति रवि लामिछानेले रोकेका हुन् ।
प्रतिवेदनका आधारमा तयार गरिएको प्रस्तावमा पार्टीलाई रविको पार्टी नभएर राष्ट्रिय स्वतन्त्र पार्टी बनाउनुपर्ने कुरा उल्लेख गरिएको ढकालले बताएका छन् ।
‘प्रतिवेदनका आधारमा पार्टी महामन्त्रीको तर्फबाट प्रस्ताव पेश गर्न हिजो सचिवालयको बैठकमा अनुमति दिने निर्णय भएको थियो।त्यही आधारमा मैले लिखित प्रस्ताव तयार पारेको थिएँ,’ ढकालले भने, ‘तर आजको केन्द्रीय कमिटी बैठकमा उक्त प्रस्ताव पेस गर्ने अनुमति सभापतिले दिनु भएन। प्रतिवेदनका आधारमा तयार गरिएको प्रस्तावमा पार्टीलाई रविको पार्टी नभएर राष्ट्रीय स्वतन्त्र पार्टी बनाउनु पर्ने कुरा उल्लेख छ ।’
बैठकको लाइभ गर्न नदिएपछि आफ्नो लोकतान्त्रिक अधिकार हनन् भएको भन्दै उनी मुखमा कालो टेप टाँसेर मौन बसे । महामन्त्री ढकालको प्रतिवेदन सहमहामन्त्रीले बैठकमा बाचन गरे ।
प्रतिवेदन पढिसकेपछि अहिले खाजा ब्रेक भएको छ । खानापछि सुरू हुने बैठकमा प्रतिवेदनमाथि छलफल हुने जनाइएको छ ।