संक्रमणकालीन न्यायसँग सम्बन्धि विषयलाई टुङ्गो लगाउन गठित कार्यदलको पहिलो बैठक बसेको छ । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा आज बैठक जारी रहेको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
कार्यदलमा नेपाली कांग्रेसबाट प्रमुख सचेतक रमेश लेखक, नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जनार्दन शर्मा रहेका छन् ।
बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच संक्रमणकालीन न्यायसँग सम्बन्धित मुद्दा टुङ्गो लगाउन तीन पार्टीबाट एकरएक जना सदस्य रहने गरी कार्यदल बनाउन सहमति भएको हो ।
बर्तौलाले कार्यदलले छलफल गरेर टुंग्याउन बाँकी विषयसहितको प्रस्ताव तयार गरेर शीर्ष नेतृत्वलाई बुझाउने जानकारी दिए । कार्यदलले यसअघिको मस्यौदामा भएका असहमतिका बुँदामा छलफल गरेर साझा धारणा बनाउने तयारी छ ।
टीआरसी विधेयकका अधिकांश बुँदामा सहमति भए पनि चार बुँदामा सहमति कायम हुन नसकेको नेताहरूले बताएका छन् ।
मानव अधिकारका गम्भीर उलंघन गर्नेलाई सजायको दायरामा ल्याउनुपर्ने र आममाफि दिन नहुने पक्षमा एमाले रहेको छ । नयाँ सत्ता समिकरण बनेपछि शान्तिप्रक्रिया र संक्रमणकालीन न्याय टुंग्याउने भने पनि सरकारले ठोस पहल गरेको छैन ।