कांग्रेस-एमाले गठबन्धनलाई लोसपाले समर्थन गर्ने

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले कांग्रेस-एमाले गठबन्धनलाई समर्थन गर्ने भएको छ ।

बबरमहलस्थित पार्टी कार्यालयमा बुधबार बसेको पदाधिकारी बैठकले नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको नेता सर्वेन्द्रनाथ शुक्लाले जानकारी दिए ।

गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेपनि सरकारमा जाने नजानेबारे अहिले कुनै निर्णय नभएको समेत उनले बताए ।

उनले भने, ‘हामीसँग सरकारमा जाने नजाने भन्ने विषयमा औपचारिक छलफल कांग्रेस एमालेले गरेको छैन । तर, संविधान संशोधनसहितको मुद्दा अघि सारेकाले हामीले समर्थन गर्ने निर्णय गरेका हौँ ।’

बैठकमा अध्यक्ष महन्थ ठाकुरले पछिल्लो विकसित घटनाक्रम र हिजो कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटबाट ब्रिफिङ गरेका थिए ।