दक्षिण कोरियाको भिसा लिने समय मिलाइदिने भन्दै ठगी गरेको आरोपमा ८ जना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनलाइनमार्फत भिसा पाउने मिति रोज्न पाउने सुविधामा एजेन्टहरूले पहिले नै समय लिएर उक्त समय बेच्ने गरेको आरोपमा ८ जनालाई पक्राउ गरेको हो । पक्राउ परेका ८ मध्ये दुई जनाको नाम सार्वजनिक गरिएको छैन ।
पक्राउ पर्नेमा भोजपुरको पौनादम्बा गाउँपालिका–५ घर भएका २१ वर्षीय दीपेन्द्र राई, नवलपुरको देवचुली नगरपालिका–१२ का २४ वर्षीय पवन काफ्ले, नवलपुरकै कावासोती नगरपालिका–८ का २१ वर्षीय संघर्ष ढकाल, काठमाडौं कलंकीका ३३ वर्षीय नवीन पौडेल, पोखरा महानगरपालिका–९ का समेश शेरचन र गोरखाको चुमनुब्री गाउँपालिका–७ का २१ वर्षीय छिरिङ निमा लामा छन् ।
३० हजार रुपैयाँ तिर्दा भिसाको डेट पाएको तर भिसा नपाएको गुनासो दूतावासमा आएपछि दूतावासले सीआईबीलाई जानकारी गराएको थियो । दूतावासको पत्रपछि सीआईबीले ८ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।
पक्राउ परेकामध्ये पवन इनोभा कन्सल्टेन्सी, संघर्ष युनिभा, नवीन यति सर्भिस् कन्सल्टेन्सी, सुमेश नोभा कन्सल्टेन्सी र छिरिङ यति सर्भिस् कन्सल्टेन्सीमा आवद्ध रहेको देखिएको सीआईबी स्रोतको भनाइ छ ।