सर्लाहीको बलरामा मलेरियाका बिरामी

सर्लाहीकोे बलरा नगरपालिकामा मलेरियाका थप चार जना बिरामी फेला परका छन् । बलरा नगरपालिका २ र ९ को गाउँमा स्वास्थ्यकर्मी खटाएर रगत परीक्षण गर्दा चार जना मलेरियाका बिरामी फेला परेका हुन ।

बलरा नगरपालिका २ हथियौल र ९ नरहरगञ्जमा यसअघि २२ जनामा मलेरिया  देखा परेको र दोस्रो चरणमा स्वास्थ्यकर्मी गाउँमा नै पठाएर रगत परीक्षण गर्दा थप चार जनामा मलेरिया देखा परेको जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा नवलकिशोर झाले जानकारी दिए । उहनका अनुसार मलेरियाका बिरामी भेटिएपछि सो क्षेत्रमा कीट र औषधिसहित चिकित्सकको टोली खटाएर रगत परीक्षण गर्दा थप चार जनामा सङ्क्रमण पुष्टि भएको छ । सबै बिरामीको अवस्था सामान्य रहेको उनले बताए ।

एनोफिलिज जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट मलेरिया लाग्दछ । मलेरियाका बिरामी भेटिएपछि जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीले बलरा नगरपालिका २ र ९ मा लामखुट्टे मार्न घरघरमा स्वास्थ्यकर्मी खटाएर औषधि छर्कने काम गरिरहेको जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ । सरकारले सन् २०२२ भित्र मलेरिया शून्य पार्ने र सन् २०२५ भित्र यो रोगलाई उन्मूलन नै पार्ने लक्ष्य लिएको भए पनि बलरा नगरपालिकाको २ र ९ मा २६ जनामा सङ्क्रमण देखा परेको छ ।

सरकारको लक्ष्यमा नै असर पर्ने गरी मलेरियाका बिरामी भेटिएपछि स्वास्थ्य सेवा विभाग र प्रदेश स्वास्थ्य निर्देशनालय मधेस प्रदेशले समेत बलरा नगरपालिका २ र ९ मा दक्ष चिकित्सकसहितको टोली खटाएर वस्तुस्थितिबारे जानकारी लिन सुरु गरेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा मुक्तिनारायण साहले बताए । उनका अनुसार बलरा नगरपालिका २ र ९ का गाउँबाट अत्यधिक ज्वरो आएका बिरामी प्रादेशिक अस्पताल सर्लाहीमा उपचार गर्न आएपछि स्वास्थ्य परीक्षण गर्दा उनीहरुमा मलेरिया सङ्क्रमण रहेको पुष्टि भएको भनी प्रदेश स्वास्थ्य निर्देशनालयलाई जानकारी आएको थियो । सोहीअनुसार जिल्ला जनस्वास्थ्य कार्यालयसँग समन्वय गरी प्रदेशबाट समेत टोली परिचालन गरिएको उनले बताए ।

सम्बन्धित समाचार