म्यानचेस्टर सिटीले जित्यो इंग्लिस प्रिमियर लिग

म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको सिजन २०२०-२१ सिजनको उपाधि जितेको छ । मंगलबारको खेलमा लेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेपछि सिटीको सातौं लिग उपाधि पक्का भएको हो ।

लेस्टरले म्यानचेस्टरलाई ओल्ड ट्रायफोर्डमा हराएको यो सन् १९९८ यता पहिलो हो । यससँगै उसले अर्को सिजन युरोपेली च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो भएको छ । यो हारपछि लिगमा तीन चरणको खेल बाँकी रहेको बेला म्यानचेस्टर छिमेकी सिटी भन्दा १० अंकले पछाडि रह्यो ।

सिटीले यसै साता चेल्सीसँग घरेलु मैदानमा २-१ को हार व्यहोरेपछि उपाधिका लागि केहि प्रतीक्षा गर्नुपरेको थियो । तर दोस्रो स्थानको युनाइटेडलाई लेस्टरले २-१ ले पराजित गरेपछि सिटीको विजय पक्का भएको हो । लेस्टरको जितमा लुक थोमस र काग्लार सोयुन्चुले गोल गर्दा मेसन ग्रिनवुडको बराबरी गोलले अंक दिलाउन सकेन ।

यो जितपछि लेस्टर ६६ अंकमा तेस्रो स्थानमा रह्यो भने म्यानचेस्टरको ७० अंक छ । मंगलबारकै अर्को खेलमा साउथह्याम्पटनले क्रिस्टल प्यालेसलाई ३–१ ले हरायो र १४औं स्थानमा उक्लिन सफल रह्यो ।

सम्बन्धित समाचार