अख्तियारले दायर गरेको मुद्दामा सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीकी पत्नी गीता दोषी ठहर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा गीता सोडारी दोषी ठहर भएकी छन् । गीता सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीकी श्रीमती हुन् ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय रामबहादुर थापा र रितेन्द्र थापाको इजलासबाट नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाएको अभियोगमा उनी दोषी ठहर भएकी हुन् ।

कैलालीको धनगढी उपमहानगरपालिका–९ स्थित शिव निम्न माध्यमिक विद्यालयकी शिक्षिका गीताले भारतबाट १० कक्षा अध्ययन गरेको शैक्षिक प्रमाणपत्र पेस गरेकी थिइन् । बोर्ड अफ सेकेन्डरी एजुकेसन, दिल्लीबाट १० कक्षा अध्ययन गरेको भनी उनले पेस गरेको प्रमाणपत्र नक्कली देखिएको छ ।