प्रधानमन्त्रीबाट पदमुक्त भएलगत्तै खुमलटार सर्ने प्रचण्डको तयारी, पेरिसडाँडाबाट विशेष सम्बोधन गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आजै सरकारी निवास बालुवाटार छोड्ने भएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार संसदमा विश्वासको मत लिने प्रक्रिया पूरा भएपछि उनी सिधै निजी निवास खुमलटार जाने भएका हुन् ।

असार १७ गते नेपाली कांग्रेस र एमालेका बीचमा राष्ट्रिय सहमतिको सरकार बनाउने समझदारी भएसँगै एमाले, जनता समाजवादी पार्टीका मन्त्रीहरूले समर्थन फिर्ता लिँदै राजीनामा दिएका थिए ।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले आज विश्वासको मत लिन लागेका हुन् ।

सदनको अंक गणित अनुसार प्रचण्ड पदमुक्त हुने निश्चित छ । २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ, जबकि अहिलेसम्म प्रचण्डसँग माओवादी (३२), रास्वपा (२१) र एकीकृत समाजवादी (१०) गरी जम्मा ६३ मत मात्र छ ।

प्रतिनिधिसभाबाट विश्वासको मत लिने प्रक्रिया सकिएपछि उनले दिउँसो ३ बजे पेरिसडाँडाबाट विशेष सम्बोधन गर्ने भएका छन् ।

देशको पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा पार्टी कार्यालय पेरिसडाँडाबाट सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ ।