अविरल वर्षाका कारण ढुङ्ग्रे खोलामा आएको बाढीले बर्दीबास ५ स्थित पूर्वपश्चिम लोकमार्गको जङ्गली क्षेत्रमा पर्ने बेलगाछी पुल जोखिममा पारेको छ । खोलाले सडकको दायाँतर्फ तीव्र कटान गर्न थालेपछि उक्त पुल बाढीको उच्च जोखिममा परेको हो ।
तीव्र वेगको बाढीले लोकमार्ग नजिक चुरे र भावर क्षेत्रबाट बगाएर ल्याएको बालुवासहितको गेग्य्रानले खोलाको सतह उठाउँदै लगेकोले पुलमा दोहरो जोखिम देखिएको छ । एकातिर तीव्र कटान भैरहेको छ भने अर्कोतिर गेग्रानले पुल र खोलाबिचको सतह १ मिटरभन्दा पनि कम पारेको छ । तत्काल सुरक्षाका उपाए नगरे पुल र खोलाको उचाइ समानान्तर अवस्थामा पुग्ने जोखिम बढेको प्राविधिकले जनाएका छन् ।
बिहीबार साँझदेखि बढेको बाढीले क्षति पुर्याउन थालेपछि बर्दीबासस्थित इलाका प्रहरीले पुलबाट एकपटकमा एउटा मात्र सवारी चल्न दिएको छ । बर्दीबास प्रहरीका डिएसपी रेवतीरमण पोखरेलले दुवैतर्फबाट एकैसाथ गाडी चल्दा कटानतर्फको सडक र पुल भासिन सक्ने सम्भावना भएकोले पुल नजिक एकतर्फी सञ्चालन गरिएको बताए ।
बढ्दै गएको बाढीले पुल पश्चिम तीव्ररुपमा साइड कटान गरिरहेकोले जोखिम बढ्दै गएको उनले बताए । खोलाले थप क्षति गरेमा जङ्गली क्षेत्रमा पर्ने लोकमार्गको यो खण्ड आवागमन ठप्प हुने सम्भावना बढ्दै गएको छ ।