दक्षिणकाली नगरपालिका–५ डोल्लुस्थित थाई गुम्बा भनिने कर्मास्यामदेलिङ नुनुरी आनी थाई गुम्बाको पर्खाल भत्किँदा एक नाबालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हुनेमा ५ वर्षीया पल्जोम तामाङ छिन् । उनको दक्षिणकालीकै मनमोहन अस्पतलामा उपचारका क्रममा मृत्यु भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी तथा प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए ।
शुक्रबार अपरान्ह थाइ गुम्बामाथि पहिरो खस्दा ६ जना बालबालिका पुरिएका थिए । ६ जनाको उद्धार गरी अस्पताल ल्याइएपनि एक जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
घाइते हुनेहरूमा १२ वर्षीया पासाङ डोल्मा तामाङ, ११ वर्षीया स्याङ्बो शेर्पा, १० वर्षीया सुनिता तामाङ, ८ वर्षीया ममता तामाङ र ८ वर्षीया मनकुमारी तामाङ रहेका छन् । उनीहरुको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ ।