सदनमा विश्वासको मत नपाएका पुष्पकमल दाहाल प्रचण्ड कामचलाउ प्रधानमन्त्री तोकिएका छन् ।
नयाँ सरकार गठन नभएसम्मका लागि उनको मन्त्रिमण्डललाई कार्य सञ्चालन गर्ने जिम्मेवारी तोकेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।
प्रचण्डले विश्वासको मत नपाएको सम्बन्धी सभामुख देवराज घिमिरेको पत्रपछि प्रचण्ड सरकारलाई कार्य सञ्चालनको जिम्मेवारी दिइएको विज्ञप्तिमा जनाइएको छ ।
‘नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वासको मतको लागि राखु भएको प्रस्ताव सोही धाराको उपधारा (३) बमोजिम प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित हुन नसकेको व्यहोरा संघीय संसद, प्रतिनिधि सभाका सम्माननीय सभामुखको मिति २०८१ असार २८ को पत्र प्राप्त हुन आएकोले नेपालको संविधानको धारा ७७ को उपधारा ३ बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म यही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने गरी तोक्नु भएको छ’, विज्ञप्तीमा भनिएको छ ।