नयाँ सरकारमा दाबी पेस गर्न हस्ताक्षर तयार, राष्ट्रपति कानुनी परामर्शमा

नयाँ सरकार गठनका लागि दाबी पेस गर्न सांसदहरूसँगै एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका छन् ।

दाबी पेस गर्ने कागजातमा दुई नेताले हस्ताक्षर गरेको एमाले सांसद सूर्य थापाले जानकारी दिए । पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएसँगै सरकार ढलेको छ ।

नयाँ सरकार आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेलले कानुनविद्हरूसँग परामर्श गरिरहेका छन् । राष्ट्रपतिले सरकार गठनको आह्वान गरे दाबी पेस गर्ने तयारीमा कांग्रेस–एमाले नेताहरू छन् । एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउन सांसदहरूले हस्ताक्षर गरेका हुन् ।

‘दुई दलको तर्फबाट दाबी प्रस्तुत गर्ने गरी कागज तयार पारिएको छ’, थापाले भने, ‘राष्ट्रपतिले आह्वान गरेलगत्तै दाबी पेश गर्ने तयारी छ ।’

थापाले फेसबुकमा दाबी पेश गर्न तयार पारिएको कागजमा हस्ताक्षर गर्दै गरेको फोटो सार्वजनिक समेत गरेका छन् ।