भरतपुर महानगर पालिका वडा नम्बर २९ सिमलतालबाट यात्रुसहित दुई वटा बस बेपत्ता भएको दोस्रो दिन पश्चिम चितवनको मेघौलीको गोलाघाटमा एउटा शव भेटिएको छ ।
दुर्घटना स्थल सिमलताल भन्दा करिब ५० किलोमिटर पश्चिममा पर्ने गोलाघाट नारायणी नदी किनारमा सो शव भेटिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक भेषराज रिजालले नदी किनारमा भेटिएको शव ऋषिपाल साहको रहेको बताएका छन् ।
मृतक घोप्टो परेको र आधा शरीर बालुवामा गाडिएको अवस्थामा भेटिएको छ । उनको साथमा भेटिएको ग्लोबल आइएमई बैंकको भिसा डेविट कार्डबाट नाम खुलेको हो । उनी कुन गाडीमा सवार थिए भन्ने खुलेको छैन । “शव देख्दा फ्रेस नै देखिन्छ । दुर्घटनामै परेका यात्रुको हो वा हैन भन्ने कुरा अध्ययन हुँदै छ”, उनले भने ।
शवको मुचुल्का उठाएर भरतपुर ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
त्रिशूली नदीमा यात्रु सहित बेपत्ता भएका दुवै बसको खोजी कार्य शनिबार पनि बिहानै देखी जारी रहेको छ । सशस्त्र प्रहरीको गोताखोर सहितका टोली नेपाली सेना, नेपाल प्रहरीले दुर्घटना भएको दिनदेखि खोजी कार्य जारी राखेको हो ।
अविरल वर्षाका कारण नारायणगढ–मुग्लिङ सडकको सिमलतालमा शुक्रबार बिहान पहिरो जाँदा ६२ जना यात्रु सहित दुई वटा यात्रु वाहक बस त्रिशूलीमा हराइ रहेका छन् । काठमाडौँबाट गौर जान नारायणगढ तर्फ आउँदै गरेको बागमती प्रदेश ००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेशको ०३(००६ ख(१५१६ नम्बरको एन्जलस डिलर्स बस त्रिशूलीमा हराइ रहेको हो ।