झगडा मिलाउन गएका राईको खुकुरी प्रहार गरि हत्या

धारिलो हतियार प्रयोग गरेर नेपालगन्जमा एक जनाको हत्या गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका– ११ निवासी ३८ वर्षीय इरसाद राईमाथि शुक्रबार राती करिब १०ः३० बजेतिर खुकुरी प्रहार गरिएको थियो ।

खुकुरी प्रहारबाट गम्भीर घाइते राईलाई रातीनै भेरी अस्पतालमा लगेपनि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार मोटरसाइकलमा आएका दुईजनाले खुकुरी प्रहार गरी राईको हत्या गरेको जानकारी प्राप्त भएको छ ।

हत्या गर्ने समूहको पहिचान नभए पनि समूहले प्रयोग गरेको से ७ प ४२५३ नम्बरको मोटरसाइकल फेला परेकाले छिट्टै पहिचान हुने उनको भनाइ छ ।

उनले भने, ‘‘हत्या गर्ने व्यक्तिको पहिचान भएको छैन, तर हामीले एउटा मोटरसाइकल फेला पारेका छौं र एक जना व्यक्तिलाई समेत पक्राउ गरेका छौं, सोही आधारबाट हामी हत्यारा पक्राउ गर्न नजिक पुगिसकेका छौं ।’’

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट लागूऔषध दुर्व्यशनीकर्ताबिच आपसमा विवाद भएको थियो । झगडा र विवाद मिलाउन गएका राईमाथिनै खुकुरी प्रहार हुँदा उनको मृत्यु भएको छ ।

हत्यामा संलग्नहरुको खोजी र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

यसैबिच मृतकका आफन्तहरुले हत्याको विरोध गर्दै हत्यारालाई पक्राउ गरेर तत्काल सार्वजनिक गर्ने माग गर्दै शनिबार बिहानदेखि टांगा स्टेन्ड नजिक सडक जाम गरेर नाराबाजी गरिरहेका छन् ।

Share