वर्षमान पुन भन्छन्- चार महिनामा आशा जगाउने काम गरेको छु

अर्थमन्त्री वर्षमान पुनले दोस्रो कार्यकाल सन्तोषजनक रहेको बताएका छन् ।

अर्थ मन्त्रालयका कर्मचारीद्वारा आज आयोजित बिदाइ कार्यक्रममा उनले आगामी आर्थिक वर्षको बजेटमार्फत मुलुकको भावी विकास र अर्थतन्त्रको मार्गचित्र कोर्न सफल भएको समेत दाबी गरे । अर्थतन्त्र सुधारका लागि नयाँ आउने मन्त्रीसँग सहकार्य हुने उनले बताए ।

आगामी आवको बजेटमार्फत विद्यमान शिथिल अर्थतन्त्रमा सुधार तथा निजी क्षेत्र र युवा वर्गमा आशा जगाउने खालका कार्यक्रम ल्याइएको उनले जिकिर गरे।

बाह्र वर्षअघि पहिलोपटक १८ महिना अर्थमन्त्रीको जिम्मेवारीमा रहँदा दुई आर्थिक वर्षमा पूरक बजेट ल्याएको स्मरण गर्दै उनले यसपटक संसद्‌बाट पूर्ण बजेट ल्याउने मौका पाएकामा खुसी व्यक्त गरे ।

‘केही आशा जगाउने गरी बजेट ल्याएको छु । चार महिना एक साताको कार्यकालबाट म सन्तुष्ट छु,’ अर्थमन्त्री पुनले भने, ‘मलाई अर्थ मन्त्रालय परिवार र नेपाल राष्ट्र बैंकका गभर्नरसहित समयवद्ध सबैबाट राम्रो सहयोग मिल्यो ।’

आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रियालाई सहभागितात्मक बनाइएकाले विगतको तुलनामा यसपटकको बजेटको स्वामित्व धेरैले लिएको उनको भनाइ थियो ।