कांग्रेसबाट ६ र एमालेबाट चारसहित ओली सरकारमा १० नयाँ अनुहार

चौथो पटक प्रधानमन्त्रीको शपथ लिएका केपी शर्मा ओली नेतृत्वको सरकारमा १० नयाँ सांसदहरू अटाएका छन् । प्रधानमन्त्री ओलीले नियुक्त गरेका २१ मध्ये १० जना पहिलोपटक मन्त्री बनेका हुन् ।

प्रधानमन्त्री ओली, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेल धेरै पटक दोहोरिए पनि यसपटक मन्त्रीमा नयाँलाई पनि उल्लेख्य अवसर दिइएको छ ।

२२ सदस्यीय मन्त्रिपरिषद्‍मा १२ पुराना हुँदा १० जनाले पहिलो पटक अवसर पाएका हुन् । यसपटक ओली नेतृत्वको सरकारमा एमालेले भन्दा कांग्रेसले धेरै नयाँ मन्त्री पठाएको छ । कांग्रेसले ६ जनालाई पहिलो पटक अवसर दिँदा एमालेले चारजना नयाँलाई पठाएको छ ।

कांग्रेसबाट मन्त्री बनेका आरजु राणा देउवा, तेजुलाल चौधरी, प्रदीप पौडेल, बद्री पाण्डे, रामनाथ अधिकारी र ऐनबहादुर शाही पहिलोपटक मन्त्री बनेका हुन् ।

राणा परराष्ट्र, चौधरी युवा तथा खेलकुद, पौडेल स्वास्थ्य तथा जनसंख्या, पाण्डे पर्यटन, अधिकारी कृषि र शाही वन तथा वातावरण मन्त्री बनेका छन् ।

एमालेबाट देवेन्द्र दाहाल, विद्या भट्टराई, मानवीर राई र राजकुमार गुप्ता पहिलोपटक मन्त्री बनेका छन् ।

दाहाल भौतिक पूर्वाधार तथा यातायात, भट्टराई शिक्षा, राई रक्षा र गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका छन् ।

प्रधानमन्त्री ओलीले नियुक्त गरेका अन्य मन्त्रीहरू भने अनुभवी छन् ।