ढोरपाटन सिकार आरक्षमा पछिल्लो समय राजश्व सङ्कलनमा वृद्धि हुँदै गएको छ ।
विशेष गरी विदेशी पर्यटकले सिकार गर्दे आइरहेको ढोरपाटन सिकार आरक्षमा प्रत्येक वर्ष सिकार खेल्नेको सङ्ख्या वृद्धि हुँदै जानु र सिकार टेन्डरको मूल्य वृद्धि हुँदै जाँदा राजश्वमा वृद्धि हुन थालेको हो । ढोरपाटन सिकार आरक्ष बागलुङ, म्याग्दी र रुकुम जिल्लामा पर्दछ ।
दुई सिजनमा हन्टिङको निम्ति टेन्डर आह्वान गरेर उक्त क्षेत्रमा नाउर र झारलको सिकार गर्ने गरिन्छ । विदेशीका निम्ति सिकार सोखिनको पाटो हुँदै गर्दा निश्चित कोटा खुलाएर सिकार आरक्ष भित्र रहेका वन्यजन्तुको सिकार हुँदै आएको छ ।
गत आर्थिक वर्षमा कुल ३ करोड ४८ लाख राजश्व सङ्कलन गरेको सिकार आरक्ष कार्यालयले आर्थिक वर्ष २०८०/०८१ मा राजश्व वृद्धि गर्न सफल भएको हो । चालु आर्थिक वर्षमा कुल ४ करोड २६ लाख ८८ हजार सिकारबाट, पर्यटक प्रवेश शुल्कबाट बाट १३ लाख सङ्कलन भएको छ ।
त्यस्तै काठ दाउरा र नदीजन्य पदार्थको पुर्जीबाट २० लाख ९३ हजार र सिकारी ल्यान्ड हुँदै गर्दा हेलिकप्टर अवतरण शुल्क ५७ हजार गरी कुल ४ करोड ६२ लाख ३० हजार राजश्व सङ्कलन भएको ढोरपाटन सिकार आरक्ष कार्यालयका संरक्षण अधिकृत मन्दिप पङ्गेनीले जानकारी दिए ।
सिकार आरक्षभित्र हाल एक हजार दुई सय ९० नाउर र ७ सय ४४ वटा झारल रहेका छन् । प्रत्येक पाँच वर्षमा उक्त जनावरको गणना हुँदै आएको छ । चालु आर्थिक वर्षमा २४ वटा सम्म नाउर र १४ झारल सिकारको कोटा खुल्ला गरिएकोमा १८ झारल र ११ नाउर गरी ३० वटा जनावरको सिकार भएको अधिकृत पङ्गेनीले बताए ।