व्यवस्थित सहरी विकास र सेवा प्रवाहलाई प्राथमिकता दिन्छु : उपप्रधानमन्त्री सिंह

नवनियुक्त उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नवगठित सरकारले राजनीतिक स्थिरता, व्यवस्थित सहरी विकास र सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।

सिंहदरबारस्थित सहरी विकास मन्त्रालयमा पदबहालीपछि सञ्चारकर्मीको जिज्ञासामा उपप्रधानमन्त्री सिंहले अस्थिरताबाट गुज्रिरहेको राष्ट्रिय राजनीतिलाई स्थिरता र स्थायित्व प्रदान गर्न संसदमा रहेका ठूला दुई दलबीचको सहमतिमा सरकार गठन भएको प्रतिक्रिया दिए ।

उपप्रधानमन्त्री सिंहले भने, “मन्त्रालयको काम, कर्तव्य र अधिकारको सीमाभित्र रही नेपालका सहरलाई जनताको चाहनाअनुरुप आधुनिक, सुविधाजनक र व्यवस्थित गर्नेतर्फ काम अघि बढाइने छ ।”

विगतमा जनअपेक्षाअनुरुप काम भएन भन्ने गुनासालाई अन्त्य गर्न ठूला दल मिलेर बनेको वर्तमान सरकारले विशेष ध्यान दिने उल्लेख गर्दै उनले जनहितका काम र सेवाप्रवाहलाई प्राथमिकतामा राखेर गर्ने प्रतिबद्धता जनाए । उनले मन्त्रालयमा सचिव मणिराम गेलाललगायत कर्मचारीले स्वागत गरेका थिए ।