अर्घाखाँचीमा दाइजो थोरै ल्याएको रिसमा श्रीमतीको हत्या

अर्घाखाँचीको मालारानी गाउँपालिका–२ डाँडाकटेरीमा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ परेका छन् । डाँडाकटेरीका २७ वर्षीय कमल भुसाललाई २७ वर्षीया श्रीमती सरु भट्टराई भुसालको हत्या आरोपमा पक्राउ गरिएको प्रहरीले बताएको छ ।

भुसालले आफूहरु दुबै जना घरबाट नजिकैको जङ्गलमा घाँस दाउरा लिन गएको र आफूले कम्मरमा बाँधेको गम्छाले श्रीमतीको घाँटी कसेर हत्या गरेको बयान दिएको प्रहरीको भनाइ छ । श्रीमतीको हत्यापछि भुसाल आफैँ प्रहरी चौकी पुगेका थिए ।

दुई वर्षअघि रूपन्देहीको सैनामैना ४ कि सरूसँग मागी विवाह गरेका कमलले विवाहको केही समयपछि नै दाइजोको विषयमा श्रीमतीलाई तनाव दिने गरेको स्थानीयहरुले बताएका छन् ।
‘दाइजोको विषयमा पटक पटक श्रीमानले पीडा दिएको कुरा सरूले बताएकी थिइन्, हत्याको मूल कारण यहीँबाट हुनुपर्छ, अनुसन्धानमा खुल्ला, विवाहको केही समयपछि नै विवाद सुरू भएको थियो,’ स्थानीयको भनाइ छ ।

सरू र कमलको एक वर्षको छोरा छन् । यस बारेमा थप अनुसन्धान गर्न प्रहरी घटनास्थलमा पुगेर आएको र केही समयमा अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार