सबैया साझेदारी वन अतिक्रमणमा

पर्साको सबडिभिजन वन कार्यालय सबैया मातहत पर्ने करिब ३५ हेक्टर वन अतिक्रमणमा परेको छ ।

पर्सागढी नगरपालिका–३ झाला टोलका स्थानीयले २० हेक्टर तथा वीरगञ्ज महानगरपालिका–३२ रामवनका बासिन्दाले १५ हेक्टर वन क्षेत्र कब्जा गरेर खेतीपाती तथा घरटहरा निर्माण गरेर बसेका छन् ।

सबैया साझेदारी वन व्यवस्थापन समूहका पूर्वअध्यक्ष लखनलाल साहले सबैया साझेदारी वनअन्तर्गत दुई ठाउँमा वन अतिक्रमण गरिएको जानकारी दिए ।

सबडिभिजन कार्यालयसँग पर्याप्त जनशक्ति नहुँदा सर्वसाधारणले वन अतिक्रमण गरिरहेको उनको भनाइ छ । विगतमा यहाँ साझेदारी र सबडिभिजन कार्यालयले गस्ती गर्ने गरेको थियो ।

‘आठ महिनादेखि साझेदारी वन व्यवस्थापन समूह नेतृत्वविहीन छ, अतिक्रमण रोक्न कतैबाट सहयोग मिलेको छैन्,’ पूर्वअध्यक्ष साहले भने । पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भूसालले वन अतिक्रम रोक्न पहल भइरहेको बताए ।

डिभिजन वन कार्यालय पर्साका डिभिजन वन अधिकृत सुनिलकुमार कर्णले सबै निकायसँग समन्वय गरेर वन अतिक्रमण हटाइने बताए ।

यसअघि अतिक्रमणमा परेको ४७ हेक्टर वन खाली गराइएको थियो । उक्त वनमा खयर, मसला, टिक, सिमल, सिसो, जामुन, अम्रिसोलगायत प्रजातिको बिरुवा लगाइएको छ ।

अहिले कार्यालयसँग सात कर्मचारी छन् । उक्त सबडिभिजनअन्तर्गत तीन हजार १८८ दशमलव ६९ हेक्टर वन क्षेत्र पर्छ । पर्सामा ११ हजार ५७५ हेक्टर वन क्षेत्र रहेको छ ।

साझेदारी वन व्यवस्थापन समूहभित्र वीरगन्ज महानगरपालिकाका ३२ वडामध्ये १९ र २७ बाहेकका ३० वडा तथा पर्सागढी नगरपालिकाको वडा नं ३ र ४ पर्दछ ।