चरम आर्थिक सङ्कटको सामना गरिरहेको श्रीलङ्का बाह्य सहायताका निम्ति याचना गरिरहँदा समस्याग्रस्त अर्थतन्त्र भएका विश्वका अन्य देशहरूमा खतराको घण्टी बजेको छ । श्रीलङ्काको अर्थतन्त्र पहिलोपटक तहसनहस भएको भए पनि उसकै बाटोमा लाओस, पाकिस्तानमात्र होइन भेनेजुएलादेखि गिनिसम्मका देश अग्रसर हुन लागेका प्रतीत भएको छ । केही देशमा रूस–युक्रेन युद्धले समस्या थप चर्काएको छ । इन्धनसहित आकासिदो उपभोग्य सामग्रीको मूल्यले श्रीलङ्काको नियति भोग्नुपर्ने परिस्थिति कमजोर अर्थतन्त्र भएका देशमा पनि उत्पन्न हुने चेतावनी ग्लोबल क्राइसिस ग्रुपले दिएको छ ।
गरिब देशहरूमा बढ्दो आर्थिक तनावले जनतालाई उत्तेजित पार्दै उनीहरूलाई सडकमा ल्याएको छ भने कोरोना महामारीविरुद्धको लडाइँमा जुट्न लिइएका सहायता रकम, उच्च ब्याजसहितका ऋण, विदेशीसँग लिएका ऋणको आवधिक भुक्तानीका दायित्वले उनीहरूलाई अझ प्रभावित पारेको छ । विश्वका आधाभन्दा बढी मुलुक ऋण चुक्ता गर्न सङ्घर्षरत छन्भने गरिब देशहरू ऋण सङ्कटबाट मुक्त हुनसक्नेक अवस्था छैन ।
अतिकमजोर अर्थतन्त्र भएका देशहरू महामारीभन्दा अघिदेखि महारोगका रूमा फैलिएको चरम भ्रष्टाचार, गृहयुद्ध, विद्रोह र दैवी विपत्तिबाट थप बिथोलिएका वास्तविकता क्राइसिस ग्रुपले औँल्याएको छ । अफगानिस्तान, पाकिस्तान, अर्जेन्टिना, इजिप्ट, लाओस, लेबनान, म्यान्मा, टर्की, जिम्बाम्बेलगायत देशको अर्थतन्त्र जोखिममा रहेको ग्रुपको ठहर छ ।