नयाँ गीत पछ्यौरी विवादमा आएपछि इन्दिरा जोशीले आफ्नो प्रतिक्रिया दिएकी छन्। सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेख्दै हामी साउण्ड र टेक्नोलोजीमा धेरै पछाडि रहेको र विचारमा त्योभन्दा पनि पछाडि रहेको बताएकी छन्।
उनले लेखेकी छन्, ‘बेकारमा टन्नै आलोचना खेप्नुपर्ने। अबदेखि इन्टरनेशनल स्टाइललाई नेपाली स्टाइलमा समावेश नगर्दा नै वेस होला। अरूले त्यही काम गर्दा स्टाइल र ट्रेण्ड हुन्छ। तर, हामी आफूले प्रयोगमा ल्याउँदा कपी।’
साथै उनले बल्कन बिट बक्सको हर्माटिको बोलको गीत पनि सार्वजनिक गरेकी छन्। जसमा प्रयोग भएका वाद्यवादन सामग्री र ट्युन इन्दिराको पछ्यौरीसँगै कपी गरिएको भनिएको टक डर्टी टु मिसँग पनि मिल्दो छ। इन्दिराले यो पोस्ट मार्फत त्यो ट्युनमा कसैको कपिराइट नरहेको र बिट र बाजा एउटै भएका कारण उस्तै सुनिनु सामान्य कुरा रहेको दाबी गरेकी छिन् ।