धेरै कर तिर्ने १० ठूला कम्पनीमा ५ वटा वाणिज्य बैंक

आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा धेरै कर तिर्ने १० ठूला कम्पनीमा ५ वटा वाणिज्य बैंकहरु रहेका छन् ।  असार मसान्तसम्म दाखिला भएको करको विवरणअनुसार सबैभन्दा धेरै कर तिर्ने १० कम्पनीको सूचीमा एनआईसी एसिया बैंक, नबिल बैंक, ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक र राष्ट्रिय वाणिज्य बैंक परेका छन् ।

अर्थ मन्त्रालय स्रोतका अनुसार एनआइसी एसिया बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ४१ करोड कर दाखिला गरेको छ। जुन वाणिज्य बैंकहरुमध्ये धेरै हो। उच्च कर तिर्नेमा एनआइसी एसिया छैटौँ स्थानमा छ। अघिल्लो वर्ष ३ अर्ब ६१ करोड कर दाखिला गर्दै एनआईसी एसिया बैंक पाँचौँ स्थानमा थियो।

नबिल बैंकले ३ अर्ब ३२ करोड कर दाखिला गर्दै धेरै कर तिर्नेको सातौँ नम्बरमा परेको छ। वाणिज्य बैंकहरुमा भने दोस्रो स्थानमा छ। अघिल्लो वर्ष यो बैंकले ३ अर्ब ९७ करोड कर तिर्दै बैंकिङ क्षेत्रमध्ये सबैभन्दा धेरै कर तिर्नेको बैंक बनेको थियो ।

यसैगरी बैंकिङ क्षेत्रमा गत आवमा सबैभन्दा बढी घर तिर्नेमा आइएमई बैंक रहेको छ भने समग्रमा आठौँ स्थानमा छ। ग्लोबल आइएमई बैंकले गत वर्ष ३ अर्ब २१ करोड राजस्व तिरेको छ।  सर्वाधिक कर तिर्ने सूचीको नवौँ स्थानमा २ अर्ब ७७ करोड रुपैयाँसहित सिद्धार्थ बैंक छ भने २ अर्ब ६५ करोड रुपैयाँका राष्ट्रिय वाणिज्य बैंक दसौँ स्थानमा छ ।

हरेक वर्ष जस्तै यो वर्ष पनि सूर्या नेपाल धेरै कर तिर्ने कम्पनीको शीर्ष स्थानमा छ ।  कम्पनीले सूर्य चुरोट उत्पादन तथा वितरण गर्छ। कम्पनी १० अर्ब ७२ करोड कर दाखिला गर्दै १ नम्बर कम्पनी बन्न सफल भएको हो।

सूर्य नेपालले गत वर्ष १० अर्ब ६२ करोड रुपैयाँ कर दाखिला गरेको छ। अघिल्लो वर्ष पनि यो कम्पनीले ९ अर्ब ३४ करोड कर दाखिला गर्दै पहिलो नम्बरमै थियो।

कर धेरै तिर्ने दोस्रो कम्पनीमा नेपाल दूरसञ्चार कम्पनी (एनटीसी) रहेको छ। यो कम्पनीले ९ अर्ब ७२ करोड कर दाखिला गरेको छ। अघिल्लो वर्ष यो कम्पनीले ९ अर्ब कर दाखिला गरेको थियो।  निजी क्षेत्रकै दूरसञ्चार कम्पनी एनसेल गत आवमा ७ अर्ब ५९ करोड राजस्व तिर्दै तेस्रो स्थानमा छ।

सर्वाधिक कर दाखिला गर्ने चौथो कम्पनीमा गोर्खा ब्रअुरी छ। कम्पनीले गत वर्ष ५ अर्ब ६९ करोड रुपैयाँ कर तिरेको छ। अघिल्लो वर्ष यो कम्पनीले ४ अर्ब २४ करोड राजस्व तिर्दै चौथो नम्बरमै थियो।

नेपाल विद्युत प्राधिकरण गत आवमा ३ अर्ब ९५ करोड कर दाखिला गर्दै पाँचौँ स्थानमा छ। प्राधिकरण अघिल्लो वर्ष २ अर्ब ९० करोड राजस्व तिरेर आठौँ स्थानमा थियो।

प्रत्येक वर्ष आन्तरिक राजस्व विभागले क्षेत्रगत धेरै कर दाखिला गर्ने कम्पनीलाई कर दिवसका अवसरमा सम्मान गर्दै आएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार