गर्मीले तराईको जनजीवन कष्टकर बन्दै, रोपेको धानबाली सुक्न थाल्यो

दिन प्रतिदिन बढ्दै गएको गर्मीका कारण रौतहटसहित तराईको जनजीवन कष्टकर बन्दै गएको छ।पानी नपरेको र दिन प्रतिदिन बढ्दै गएको गर्मीमा टन्टलापुर घामका कारण रौतहटसहित मधेश प्रदेशको जनजीवन नराम्रोसँग प्रभावित भएको हो।

चर्को घामका कारण दैनिक क्रियाकलाप गर्न समस्या भएको छ। हावा नचल्ने, चर्को घाम र अत्यधिक गर्मीका कारण स्थानीयहरू घरभित्रै उकुसमुकुस हुने र घरबाहिर निस्किएपछि पसिनाले निथ्रुक्क भिज्ने गरेका छन्। गर्मीका कारण ग्रामीण सडकका सवारीसाधनमा यात्रुको चाप निकै घटेको छ।

तराईमा अत्यधिक गर्मीका कारण ग्रामीण बासिन्दाको स्वास्थ्यमा विभिन्न किसिमका समस्या देखिन थालेका छन्। विशेषगरी ज्वरो, रुघाखोकी तथा चर्मरोगको प्रकोप बढेको छ।

धान रोपाइँको मध्य समयमा खडेरी परेपछि तराईका किसान निराश छन्। यस क्षेत्रमा पानी नपर्दा किसानले रोपाइँ गर्न पाएका छैनन्, रोपेको धान बाली पनि सुक्न थालेको छ।

वर्षा हुने आशमा किसान रातदिन आकाशतिर हेरेर बस्न बाध्य छन्। तराई मधेशका जिल्लामा यो वर्ष पर्याप्त वर्षा हुन सकेको छैन्। असार दोस्रो साता दुई दिन सामान्य झरी परे पनि त्यसपछि पानी पर्न सकेको छैन।

सम्बन्धित समाचार