श्रीलङ्काका कार्यबाहक राष्ट्रपतिले सोमबारबाट फेरि सङ्कटकालको घोषणा गरेका छन् । उनले एक विशेष सूचनामार्फत् देशव्यापी रुपमा सोमबारबाट लागू हुने गरी श्रीलङ्कामा संकटकालको घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । श्रीलङ्काका कार्यबाहक राष्ट्रपति रनिव विक्रमासिंघले राष्ट्रिय सम्पत्तिको संरक्षण गर्न, नागरिकको जीवन रक्षा गर्न तथा यहाँका नागरिकहरुका लागि अत्यावश्यकीय सेवाको आपूर्ति गर्नका लागि सङ्कटकालको घोषणा गर्न आवश्यक रहेको बताएका छन् ।
उता श्रीलङ्काली संसदले यही जुलाई २० मा नयाँ राष्ट्रपतिको निर्वाचन गर्ने भएको छ । जुलाई २० मा यहाँको संसदले नयाँ राष्ट्रपतिको निर्वाचन गर्न लागेको र त्यसका लागि मङ्गलबार उम्मेदवारी दर्ताको कार्यक्रम रहेको जानकारी सभामुखले यसअघि नै दिएका छन् । यहाँका राष्ट्रपति गोटाबाया राजपाक्ष भागेर सिंगापुर पुगेका छन्। त्यसपछि यहाँको कार्यबाहक राष्ट्रपतिमा प्रधानमन्त्री रनिल विक्रमासिंघे नियुक्त भएका हुन्। श्रीलङ्का पछिल्लो समयमा आर्थिक सङ्कटमा फसेको छ । देश आर्थिक सङ्कटमा फसेसँगै यहाँको राजनीतिक अस्थिरतामा पनि थप बढ्दै गएको बताइएको छ ।