मौन अवधिमा वक्तव्यबाजी गरेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण

राष्ट्रियसभा उपनिर्वाचनको मौन अवधिमा मत माग्दै जारी भएका विज्ञप्ति र समाचार सामग्रीप्रति निर्वाचन आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले उम्मेदवार रामबहादुर थापा बादलको पक्षमा विज्ञप्ति निकालेर मत मागेपछि आयोगले यस विषयमा विज्ञप्ति निकाल्दै चासो देखाएको हो ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आयोगले अनुरोध गर्दागर्दै पनि केही व्यक्तिहरूले आचारसंहिता विपरीत वक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने र केही सञ्चार माध्यमहरूले उम्मेदवारको जीत हारको पूर्वानुमानका सामग्रीहरू प्रसार गर्ने तथा विभिन्न व्यक्तिहरूको अन्तरवार्ता लिने जस्ता गतिविधिहरू गरेको देखिएकोले यसतर्फ आयोगको गम्भीररूपमा ध्यानाकर्षण भएको छ ।’

भोलि हुने राष्ट्रियसभा निर्वाचनको उपनिर्वाचनमा लागि ३ जेठको राति १२ बजेदेखि मौन अवधि शुरू भइसकेको छ । तर, यस अवधिमा पनि उम्मेदवारका पक्षममा मतमाग्ने काम भएको भन्दै आयोगले ध्यानाकर्षण भएको बताएको हो ।

मौन अवधि शुरू भएपछि राष्ट्रियसभाका उम्मेदवार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मंगलबार साँझ अबेर फेसबुकमार्फत मत मागेका थिए ।

आयोगले आचार संहिता पालना नगर्नेलाई कारबाहीको चेतावनी समेत दिएको छ । एकातर्फ निर्वाचन आचार संहिता कडाइका साथ लागू गर्न नसक्ने भनी आलोचना पनि गर्ने र अर्कोतर्फ आफै आचार संहिता विपरीतका गतिविधिमा संलग्न हुनु कुनै पनि दृष्टिकोणबाट स्वीकार्य हुन नसक्ने आयोगका भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार