जिम्मेवारी खोस्ने रास्वपाको निर्णयविरुद्ध निर्वाचन आयोगमा मुकुल ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालले आफ्नो कारबाहीसम्बन्धी कुनै पनि पत्र अद्यावधिक नगर्न निर्वाचन आयोगलाई पत्र लेखेका छन् ।

आइतबार निर्वाचन आयोगमा दर्ता भएको पत्रमा ढकालले पदमुक्त गरिएकोबारे आफूलाई जानकारी नभएको भन्दै उनले यदी त्यस्तो कुनै पत्र आएमा अवैधानिक ठहर गर्दै अद्यावधिक नगर्न उनले आग्रह गरेका छन् ।

निर्वाचन आयोगमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम ३० दिनभित्र अद्यावधिक गर्न आएका पत्रमा विश्वास नगर्न ढकालले आयोगलाई भनेका छन् ।

‘राजनीतिक दल सम्बन्धी ऐनको दफा १८ को उपदफा (२) बमोजिम मलाई सफाइ पेस गर्ने मानसिव मौका दिइएको छैन । नेपालको संविधानले नेपाललाई लोकतान्त्रिक मुलुकको रूपमा व्याख्या गरेको र सफाइको मौका दिनपर्ने विश्वव्यापि लोकतान्त्रिक मूल्य मान्यता रहेको, राजनीतिक दल सम्बन्धी ऐन २०७३ ले पनि सो व्यवस्था गरेकाले सफाइको मौका नदिइ गरिएको कुनै पनि कारवाही अवैधानिक ठहर्छ,’ ढकालले भनेका छन् ।

साथै, उनले आफ्नो उपस्थितिबिना बसिएको कुनै पनि बैठक अवैधानिक हुने पनि पत्रमा उल्लेख गरेका छन् ।

‘मैले कुनै पनि केन्द्रीय समिति सदस्य वा पदाधिकारीलाई बैठक सञ्चालनको अनुमति नदिएकाले मेरो अनुमति वा उपस्थिति बिना बसिएको पार्टीको कुनै पनि बैठक अवैधानिक हुनेछ,’ उनले भनेका छन् ।