बागमतीका मुख्यमन्त्री लामाले मंगलबार विश्वासको मत लिने

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले यही साउन १५ गते विश्वासको मत लिने भएका छन् ।

गत मंगलबार मुख्यमन्त्रीमा नियुक्त लामाले आउँदो मंगलबार प्रदेश सभामा विश्वासको मत माग्ने भएका हुन् । नेपालको संविधानको धारा १६८ को उपधारा ४ तथा प्रदेश सभा नियमावली २०७४ को उपनियम १ बमोजिम मुख्यमन्त्री लामाले विश्वासको मत लिने भएका हुन् ।

यसका लागि साउन १५ गते दिउँसो ३ बजेका लागि प्रदेश सभाको बैठक आह्वान गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । बागमती प्रदेश सभामा सत्ता गठबन्धनमा रहेका दल कांग्रेससँग ३७ र एमालेसँग २७ गरी कूल ६४ सांसद छन् ।

११० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ५६ सांसद पक्षमा भए पुग्छ । त्यसैले मुख्यमन्त्री लामाले विश्वासको मत पाउने निश्चित छ ।

सात राजनीतिक दलको प्रतिनिधित्व रहेको बागमतीमा कुल ११० प्रदेश सभा सदस्य छन् ।