राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले सौर्य एयरलाइन्सको जहाज दुर्घटनासम्बन्धी अध्ययन गर्न गठन गरिएको छानबिन समितिमाथि प्रश्न उठाएका छन् । यो समितिबाट निष्पक्ष रुपमा छानबिन हुनेमा उनले आशंका व्यक्त गरेका छन् ।
आइतबारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोलेका राप्रपा अध्यक्षसमेत रहेका लिङ्देनले विमान दुर्घटनामा जिम्मेवार मानिएका व्यक्तिका आफन्तलाई सो छानबिन समितिको प्रमुख बनाइएको आरोप लगाए ।
विमान दुर्घटनाबारे छानबिन गर्न नेपाल नागरिक उडड्यन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको नेतृत्वमा ५ सदस्यीय समिति बनेको थियो ।
तर पूर्वमहानिर्देशक सुमनको आफन्त पनि सो दुर्घटनामा जिम्मेवार रहेको कुरा बाहिर आएकोले सो आयोगले निष्पक्ष छानबिन गर्छ भनेर विश्वास गर्न नसकिने लिङ्देनले बताए ।
‘विमान पोखराका लागि उड्न उपयुक्त थियो कि थिएन भन्ने कुरा जाँच गर्ने र अनुमति दिने सुरक्षा प्रमुख जो अनुसन्धानको सबैभन्दा पहिलो दायरामा आउँछन् । उनका भिनाजुलाई अहिले यो छानबिन आयोगको प्रमुख बनाइएको छ भन्ने कुरा बाहिर आइराखेको छ । भनेपछि कुन प्रकारको छानबिन हुन्छ होला ? र एउटै मान्छेलाई यस प्रकारको छानबिनको जिम्मेवारी पटक-पटक किन दिइँदैछ भन्ने कुरातर्फ पनि मन्त्रालयको ध्यान जान जरुरी छ,’ उनले भने ।
उनले सरकारले एउटै मान्छेलाई विमान दुर्घटनापछि छानबिनको जिम्मेवारी दिने गरेको भन्दै आपत्ति पनि जनाए ।
‘एउटै मान्छेलाई यस प्रकारको छानबिनको जिम्मेवारी पटक पटक किन दिइँदैछ भन्ने कुरातर्फ पनि मन्त्रालयको ध्यान जान जरुरी छ’ उनले भने ।
अध्यक्ष लिङदेनले उडानका लागि उपयुक्त नरहेको सो विमान उडान भर्ने काम भएको भन्दै आक्रोश पनि व्यक्त गरे ।