गोरखा पहिरोमा हराएका हाइड्रो पावरका पाँचजना अझै भेटिएनन्

उत्तरी गोरखाको धार्चे गाउँपालिका–५, सिङ्लास्थित रेसेमा आइतबार बिहान पाहिरोमा परेर बेपत्ता भएका हाइड्रो पावरका पाँचजना कामदार अझैसम्म फेला परेका छैनन्।

बेपत्ताहरुको खोजी कार्य सोमबार बिहान सात बजेदेखि पुनः सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी वासुदेव पाठकले जानकारी दिए।

आइतबार बिहान ३ बजे रेसेमा पहिरोसहितको भिषण बाढी आउँदा एकै घरका तीनसहित पाँच जना बेपत्ता भएका थिए। पहिरोमा परेर घाइते भएका दुई जनालाई भने हिजै उपचारको लागि हेलीकप्टरमार्फत् काठमाडौँ ल्याइएको छ।

पहिरामा बेपत्ता भएकाहरुको खोजी कार्यमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय गाउँले हिजो बिहानैदेखि जुटेका छन्।

‘हिजो दिनभरि खोजेपछि त्यहीँ वास बसेका सुरक्षाकर्मी र गाउँले आज बिहानैदेखि फेरि बेपत्ताको खोजीमा जुटेका छन्,’ पाठकले नेपालखबरसँग भने, ‘त्रिशूली र बुढीगण्डकी किनारसहित सम्भावित सबै ठाउँमा खोजी भइरहेको छ।’

बेपत्ताको खोजीका लागि घटनास्थलमा डोजरको प्रयोग गरिएको छ। पहिराले घर गहिरो गरी पुरेकाले बेपत्ताको खोजी गर्न कठिनाइ भएको प्रहरीले जनाएको छ। पुरिएको घर आसपासका ठाउँ र भित्ताहरुमा खोतल्ने काम भइरहेको एसपी पाठकले बताए।

पहिरोमा परेर गम्भीर घाइते भएका धार्चे गाउँपालिका–५ का ३५ वर्षीय दिलीप गुरुङ र २७ वर्षीय खमबहादुर गुरुङको काठमाडौँमा उपचार भइरहेको छ।

पहिरोमा परेर धार्चे गाउँपालिका–५ रेसेका ३७ वर्षीय जितबहादुर गुरुङ, उनकी श्रीमती ३५ वर्षीया कान्छी गुरुङ, बुवा ६० वर्षीय सुकलाल कान्छा गुरुङ र सोही ठाउँका ३३ वर्षीय रमेश गुरुङ, हाइड्रो पावरकै ट्याक्टर चालक २४ वर्षीय रमेश परियार बेपत्ता छन्।