सुदूरपश्चिम सरकार हराएको भन्दै विपक्षी सांसदले टर्च बालेर गरे खोजी

सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशनको तेस्रो बैठकमा सरकार पक्ष सहभागी नभएपछि प्रतिपक्षी दलले सांकेतिक विरोध जनाएका छन् । सुदूरपश्चिम सोमबार दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा सरकार अनुपस्थित भएपछि प्रदेश सभाको विशेष अधिवेशनको बैठक स्थगित भएको छ ।

बैठक स्थगित भएपछि प्रतिपक्षी दल कांग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले प्रदेश सभा भवन अगाडि टर्च बालेर सरकारको खोजी गरेका हुन् । उनीहरूले मोबाइलको फ्ल्यास लाइट बालेर विरोध जनाएका हुन् ।

प्रदेश सभा बैठकमा सरकारको प्रतिनिधिको रुपमा मन्त्रीको उपस्थिति नभएकाले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको सभामुख भीमबहादुर भण्डारीले बताए ।

सुदूरपश्चिमम प्रदेश सभा नियमावली २०८० को नियम ६ को उपनियम ५ ले मन्त्रीको उपस्थित अनिवार्य गरेको छ । अल्पमतमा रहेका मुख्यमन्त्री दीर्घबहादुर सोडारीसहित अन्य ५ मन्त्री संसद छल्दै आएका छन् ।