नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालीहरू हरेक क्षेत्रमा प्रतिभाशाली र योग्य रहेको बताएका छन् ।
मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाली विद्यार्थी र युवा पुस्ताले विभिन्न क्षेत्रमा कीर्तिमान कायम गरेको उल्लेख गर्दै नेपाली युवा अध्ययन, अनुसन्धान, खेलकुद लगायत सबै क्षेत्रमा प्रतिभाशाली रहेको बताए ।
अध्यक्ष नेपालले आफू २०५१ सालमा रक्षामन्त्री बन्दा ‘कडा’ रुपमा प्रस्तुत भएको बताए । राजा वीरेन्द्रले तत्कालीन प्रधानसेनापतिलाई बर्खास्ती गर्न नचाहँदा पनि आफूले बर्खास्ती गरेको नेपालले बताए ।
‘म लेबनान गएको थिएँ । म त्यहाँ गएको लेबनानमा रहेका नेपाली सेनाका हाकिमहरू थाहा पाए । उनीहरू मलाई भेट्न आए । किन आए थाहा छ, किनभने म सेनाको पनि रक्षामन्त्री थिएँ । २०५१ सालमा रक्षामन्त्री भएपछि प्रधानसेनापतिलाई पनि सञ्चालन गर्नुपर्छ । म कडा रक्षामन्त्री थिएँ,’ नेपालले भने, ‘प्रधानसेनापतिलाई जागिरबाट निकालिदिएँ । भ्रष्टाचार गरेको हुनाले । त्यो बेलामा राजा वीरेन्द्र थिए । वीरेन्द्रले भने एक पटक माफ दिइदिनुस् न त भने मैले भने माफी दिन सकिँदैन । यस्ता मान्छेलाई राखेर नेपाली सेनाको इज्जत बढ्न सक्दैन । म रक्षामन्त्री भएको बेलामा नेपाली सेनामा महिलालाई भर्ना गरिँदैन थियो ।’
तत्कालिन प्रधानसेनापतिले भ्रष्टाचार गरेपछि बर्खास्त गर्नुपरेको बताउँदै उनले सो सयमसम्म नेपाली सेनामा महिला भर्ती नगर्ने गरेको पनि स्मरण पनि गरे ।
नयाँ विद्यार्थी र युवाहरू एक सय एक प्रतिभाशाली रहेको बताउँनै उनले जुनसुकै क्षेत्रमा अब्बल रहेको जिकिर गरे।