प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार लामो समय चल्ने बताएका छन् । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विभागीय मन्त्री तथा सचिवहरुसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकार लामो समय चल्ने हुँदा ढुक्क भएर काम गर्न आग्रह गरेको एक मन्त्रीले जानकारी दिए ।
‘मान्छेहरुले हल्ला फिँजाउन सक्छन् । यो सरकार पनि कतिदिन हो र भनेर । छटपटाएका मान्छेहरुले अनेक खालका कुराहरु गर्नसक्छन् । भ्रम छर्नसक्छन् । यो सरकार पनि कतिदिन हो र भन्न सक्छन् । तर, ढुक्का हुनुहोस् मेरो नेतृत्वको सरकार २ वर्ष चल्छ । त्यसपछि हाम्रै समर्थनमा शेरबहादुर देउवाजी प्रधानमन्त्री बन्नुहुनेछ । २ वर्ष पुग्गुभन्दा एक हप्ताअघिनै मैले राजीनामा दिन्छु । यस्मा ढुक्क भए हुन्छ । सरकार कहिँ कतैबाट अप्ठ्यारोमा परेको छैन’ प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले अघिल्लो सरकारबाट काम हुन नसकेको र जनतामा निराशा छाएकाले दुई प्रमुख पार्टीको अगुवाईमा सरकार परिवर्तन गर्नुपरेको आफूले सदनमा विश्वासको मत माग्ने क्रममा पनि स्पष्ट पारिरहेको स्मरण गराए ।
‘यी दुई पार्टी मुलुकको आर्थिक, सामाजिक रुपान्तरणमा विशेष योगदान दिँदै आएका पार्टी हुन् । राणाकालदेखि राजतन्त्रसम्मको आन्दोलनमा जितेर आएका यी पार्टीको मुलुकको विकास र परिवर्तनका लागि हिस्सा र मुख्य भूमिका रहेको छ । त्यसकारण यो सरकारको काँधमा असाधारण जिम्मेवारी छ । यसलाई असफल हुने छुट छैन र कुनै हालतमा असफल हुन दिइँदैन,’ उपप्रधानमन्त्री, मन्त्रीहरुलगायत विशिष्ट पदाधिकारी सहभागी बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘असफल हुँदैन भनेर हामी हातमा हात बाँधेर बसेर आरामले बसेर चाहीँ सफल हुँदैन । भाग्यमा छ भन्दैमा डोका दूध दोएर अडिदैँन। हामीले सफलताको सङ्केत यस आर्थिक वर्षमा दिनुपर्छ । अर्को आर्थिक वर्षमा त्यो सफलता बढाउँदै लानुपर्छ । यो सरकार एक्सन ओरिएन्टेड सरकार हो। देशका लागि केही गर्रौँ भन्ने अठोट भएको सरकार हो यो । यसले को पक्ष को प्रतिपक्ष भन्ने आधारमा भेदभाव गर्दैन । विना आग्रह मूल्याङ्कन गरेर निर्णयमा जान्छ ।’
सरकारले हिजोमात्र २१ जना सचिवको सरुवा गरेको थियो । सोही बमोजिम ओलीले नयाँ जिम्मेवारी पाएका सचिवहरुलाई सेवा प्रवाह र विकासका कामलाई अघि बढाउने विषयलाई व्यवहारमा लागू गर्ने बारेमा छलफल गर्न लागेका हुन् ।
‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षाबमोजिम जनतालाई प्रभावकारी सेवा दिन, भोकमरी, भ्रष्टाचार र कुशासन हटाउँदै विकासको गतिलाई तिव्रता दिन योजनाबद्ध काम गर्न निर्देशन उनले दिएका छन् ।
सचिवहरुसँगको बैठकमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिवपनि सहभागी छन् । चालू आर्थिक वर्षको काम चुस्त र द्रुत गतिमा अघि बढाउने सरकारको योजना छ ।