बागमतीका मुख्यमन्त्री लामाले पाए विश्वासको मत

बागमतीका मुख्यमन्त्री बहादुर सिंह लामाले विश्वासको मत पाएका छन् । मंगलबार बागमती प्रदेश सभा बैठकबाट मुख्यमन्त्री लामाले विश्वासको मत पाएका हुन् ।

नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका लामाको पक्षमा ६४ मत परेको छ भने विपक्षमा ३५ मत खसेको छ ।

प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राप्रपाले विश्वासको मतको विपक्षमा मतदान गरेको छन् भने नेमकिपा तटस्थ बसेका हुन् । सदनमा दुई सिट रहेको हाम्रो नेपाली पार्टी (हानेपा) को सांसदहरु भने बैठकमा उपस्थित नै भएनन् ।

गत मंगलबार मुख्यमन्त्री नियुक्त भएका लामाले ३० दिनभित्र सदनबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार विश्वासको मत लिएका हुन् ।

११० सदस्यीय बागमती प्रदेश सभामा सरकारलाई बहुमत पुग्न ५६ सांसदको समर्थन आवश्यक हुन्छ ।